
२० जेठ,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले पदबाट राजीनामा दिएका छन्। कर्णले सोमबार मध्यरातमा सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन्।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कर्णलाई मुख्यमन्त्री सिंहले २०८१ भदौ ७ गते नियुक्त गरेका थिए। मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन्। कर्णले आफ्नो राजीनामा पत्रमा फरक संगठनको भएकाले पेसागत यात्रालाई थप प्रभावी ढंगले अगाडि बढाउन कानुनी र नैतिक दुवै हिसाबले कठिन महसुस गरेको उल्लेख गरेका छन्।
उनले राजीनामा पत्रमा लेखेका छन्, ‘फरक राजनीतिक सिद्धान्त, विचारधारा र संलग्नता हुने व्यक्तिलाई सामान्यतया नदिइने सो जिम्मेवारी यहाँले मलाई दिँदा मैले मेरो योग्यता र क्षमतामाथि गर्व गर्ने स्थिति बनेको निवेदन गर्दछु।’
उनको राजीनामासँगै मुख्यमन्त्री सिंहको सचिवालयमा प्रेस सल्लाहकार पद रिक्त भएको छ।