
२१ जेठ, विराटनगर । सुनसरीको शान्त देखिने बगरभित्र तस्करीको ठूलो जाल लुकेको रहेछ। कटान खोलाको बालुवामुनि गाडिएको अवस्थामा प्रहरीले एक टनभन्दा बढी गाँजा फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार हरिनगरा गाउँपालिका–५ र ६ को सीमामा पर्ने कटान खोलाको बगरमा गाडेर राखिएको ३८ बोरा गाँजा मंगलबार बिहान भेटिएको हो। कुल तौल ११२० किलो।
डिएसपी योगराज खतिवडाका अनुसार, तस्करहरूको समूहले भारत तस्करी गर्नकै लागि यो गाँजा सीमावर्ती क्षेत्रमा लुकाएर राखेको अनुमान गरिएको छ।
“खोलाको बगरमा चाकलुसीले गाडिएको गाँजा भेटिएको हो, अनुसन्धान जारी छ,” खतिवडाले बताए।
बरामद भएको क्षेत्र भारतसँगको सीमाबाट अत्यन्तै नजिक पर्छ। यो अवस्थाले सीमा क्षेत्रमा लागुऔषध तस्करी कति गहिरोसम्म पुगेको छ भन्ने संकेत गर्छ।
हालसम्म गाँजा गाड्ने वा तस्करी योजनामा संलग्न व्यक्तिको पहिचान खुलाइएको छैन, तर प्रहरीले यसलाई अन्तरप्रादेशिक गिरोहको संलग्नता भएको सम्भावनासहित अनुसन्धान अघि बढाएको छ।