Logo

२२ जेठ, वीरगञ्ज । विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्ज महानगरपालिका वडा नं. १७ आईसीपी ड्राइपोर्ट टर्निङमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रममा विभिन्न प्रकारका ३५० बिरुवाहरू रोपिएको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगञ्ज, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगञ्ज, र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि भारतका महावाणिज्य दूतावास वीरगञ्जका प्रमुख डी.एस. मीना र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा नागरिक समाजका अगुवा, समाजसेवी, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र सेवा केन्द्रका पदाधिकारी लगायतका सहभागिता थियो ।

वातावरण संरक्षणको साझा प्रतिबद्धता स्वरूप आयोजित यस वृक्षारोपण कार्यक्रमले वीरगञ्जको हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । कार्यक्रममा उपस्थिति जनाएकाहरुले वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका थिए ।

छपकैयास्थित छठघाट परिसरमा ४५० बिरुवा रोपियो

वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयास्थित छठघाट परिसरमा आज ’हाम्रो हरियाली अभियान’ ले  ४५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर  त्यहाँ आँप, अमला, नीम, गुलमोहर लगायतका बिरुवा रोपण गरी वातावरण संरक्षणमा थप योगदान पु¥याइएको हो ।

झण्डै दुई वर्षअघि छपकैयाको छठघाट आसपासको बाँझो जमिनलाई हराभरा बगैँचामा रूपान्तरण गर्ने संकल्प लिइएको थियो । यस अभियानले वातावरण संरक्षणसँगै स्थानीय समुदायको जीवनस्तर उकास्ने लक्ष्य राखेको छ ।

अहिले सो सपना साकार हुँदै एक हजारभन्दा बढी रुखहरू, पूर्ण घेराबार र जीवन्त पारिस्थितिक प्रणालीसहितको बगैँचामा परिणत भएको छ । अभियानलाई अझ व्यापक बनाउने दृढ संकल्पका साथ काम भइरहेको आयोजकले जनाएको छ ।

यस अवसरमा मधेश प्रदेशसभा सदस्य रहबर अन्सारी, छठघाट समिति अध्यक्ष रविन्द्र महतो लगायतको विशेष उपस्थिति रहेको थियो, भने रामधेनी तिवारी विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार