Logo

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी दलहरूको विरोध र नाराबाजीका कारण अगाडि बढ्न सकेन। दिउँसो १ बजेका लागि निर्धारित बैठक अपराह्न साढे ५ बजे सुरु भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भयो।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताए पनि उनीहरूको अवरोध जारी रह्यो।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका छन्। यसको विपरीत, सत्तापक्षका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन्।

बैठक अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले बिहीबारका लागि तय गरिएका सम्पूर्ण कार्यसूची हटाएर बैठक स्थगित गरेका छन्। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् स्थगित भएको छ।


सम्बन्धित समाचार