
२३ जेठ, काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि मुछिएका छन्। यस अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत रहेका राधेश्याम सराफको २०७८ सालमै मृत्यु भइसकेको भएता पनि अख्तियारले मृतक सराफ र उनका छोराविरुद्ध मुद्दा दायर गरेको हो। राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर सो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराएका थिए। चौतारामको सञ्चालकको हैसियतले राधेश्यामविरुद्ध पनि अभियोग लगाइएको छ।
अख्तियारले यस प्रकरणमा ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।