
२३ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको यो बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन्।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि तय भए पनि त्यसभन्दा अगाडि बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन्।
सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै माग गरेका विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन्। यद्यपि, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्क गर्दै आएको छ।
सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ। अनौपचारिक संवादपछि विपक्षी दलहरू औपचारिक छलफलमा जुटेका हुन्।