
२४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले बहुदरमाई नगरपालिका-५, डकैला चोकबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ७५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ ।
गणबाट खटिएको टोलीले तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको ७५ कार्टुन (७,५०० गोटा) चल्ला नियन्त्रणमा लिएको हो । बरामद गरिएका चल्लाहरूलाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नम्बर १३ गण परिसरभित्रै नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
चल्ला पैठारीमा प्रयोग भएका बीआर २२ एम १७४५, बीआर २२ ९१२९ र बीआर २२ पी ८६९५ नम्बरका तीनवटै मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपालमा ब्रोइलर कुखुराका चल्ला लगायतका केही कृषिजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको छ। यसरी अवैध रूपमा भित्र्याइने वस्तुहरूले स्थानीय उत्पादनमा नकारात्मक असर पार्नुका साथै विभिन्न रोगको जोखिम पनि बढाउन सक्छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सक्रियता बढाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए ।