
२५ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेस एक्सका संस्थापक एलन मस्कबीचको विवादले नासाको बजेटको भविष्यलाई थप अन्योलमा पारेको छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले अमेरिकी संसदमा बुझाएको नयाँ बजेट अनुरोध अनुसार, वैज्ञानिक परियोजनाका लागि बजेट झण्डै आधाले घटाइने प्रस्ताव गरिएको छ । यसले संचालनमा रहेका ४० वटा वैज्ञानिक मिशन प्रभावित हुने देखिन्छ । राष्ट्रपतिको तर्फबाट मस्कको कम्पनी स्पेस एक्ससँगका संघीय ठेक्का रद्द गर्ने चेतावनी दिइएको छ । यद्यपि नासा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति र मानव पठाउन स्पेस एक्सको फाल्कन ९ रकेटमा निर्भर छ।
साथै, भविष्यमा चन्द्रमा र मङ्गल ग्रहमा मानव पठाउने योजनाका लागि स्टारसिप रकेट प्रयोग गर्ने तयारी छ। यता, ओपन युनिभर्सिटीका अन्तरिक्ष वैज्ञानिक डा. सिमिओन बार्बरले यो अन्योलले मानव अन्तरिक्ष कार्यक्रममै प्रभाव पारिरहेको बताउनुभएको छ । उहाँका अनुसार, गत हप्तादेखि देखिएको निर्णय परिवर्तन र राजनीतिक खिचातानीले दीर्घकालीन योजनामा धक्का पुर्याएको छ । ह्वाइट हाउसको प्रस्तावमा सबै क्षेत्रमा कटौती गरिएको छ, मंगलमा मानव पठाउने कार्यक्रमबाहेक, जसलाई १० करोड डलर थप बजेट दिइएको छ ।
स्पेस एक्स र ब्लू ओरिजिनका वैकल्पिक रकेट प्रणाली विकास भइरहेका बेला नासाको अत्यन्त महँगो र ढिलो भएको ‘स्पेस लन्च सिस्टम’ एसएलएस बन्द गर्ने तयारी छ ।