Logo

२६ जेठ,काठमाडौं । संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार राष्ट्रिय गार्ड तैनाथ गर्ने निर्णय गरेपछि प्रहरी र प्रदर्शनकारीहरू आमनेसामने हुँदा तनाव चुलिएको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

आप्रवासन नीतिका कारण ट्रम्प प्रशासनविरुद्ध भएका यी प्रदर्शनमा मानिसहरूले सडक अवरुद्ध गर्नुका साथै सवारी साधनहरूमा आगजनी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, प्रशासनले भने भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास, रबर गोली र फ्ल्यास ब्याङ ग्रेनेडको प्रयोग गरेको छ।

गत शुक्रबार अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (ICE) ले लस एन्जलसमा धेरै ठाउँमा छापा मारेपछि मानिसहरू विरोधमा सडकमा उत्रिएका हुन्। लस एन्जलसमा विदेशी मूलका मानिसहरूको ठूलो हिस्सा भएकाले त्यहाँ विरोध प्रदर्शनहरू विशेषगरी बढी देखिएको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गर्न थालेको छ। समाचार एजेन्सीहरूका अनुसार, जुन ६ मा करिब ४४ जनालाई पक्राउ गरिएपछि विरोध झन् तीव्र भएको थियो। समाचारअनुसार देशभर करिब २ हजार आप्रवासीहरूलाई पक्राउ गरिएको छ।

लस एन्जलसमा विरोध र हिंसा बढ्दै गएपछि ट्रम्पले विरोध स्थलमा २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने निर्णय गरेका थिए, जसले प्रदर्शनकारीहरूलाई झन् आक्रोशित बनाएको छ।

यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको यो कार्यको आलोचना गरेकी छिन्। साथै, लस एन्जलसकी मेयर करेन बासले ट्रम्प प्रशासनलाई ‘अराजकता फैलाएको’ आरोप लगाएकी छिन्।


सम्बन्धित समाचार