
२६ जेठ,वीरगञ्ज । पर्साको रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत निमावि द्वितीय श्रेणीका शिक्षक चन्देशकुमार चौहानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा आयोगले आज (सोमबार) विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
आयोगले गरेको अनुसन्धानका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १, छपकैयास्थित रामदेनी तिवारी आधारभूत विद्यालयमा उनी २०६० साल मंसिर ५ गते (२०६०/०८/०५) निमावि तृतीय श्रेणीको अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भएका थिए।
आयोगको दाबी अनुसार, निमावि द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनका लागि उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको छ। यस सम्बन्धमा विशेष अदालतले थप कारबाही अगाडि बढाउनेछ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनले मगध विश्वविद्यालय बोधगयाबाट अंग्रेजीमा स्नातक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरेको पाइएको थियो ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ।