Logo

२६ जेठ,काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विज्ञापन नै प्रकाशित नगरी झुटो विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (सोमबार) विशेष अदालतमा उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा नगरपालिकाका तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादव छन्।

अनियमितताको विवरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, यो अनियमितता फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ मा कृषकहरूलाई औषधि स्प्रे ट्यांकी वितरणसँग सम्बन्धित छ। ट्यांकी खरिदका लागि बोलपत्र आह्वान गरिएको सूचना पत्रिकामा प्रकाशित भएको देखाएर पत्रकार र कर्मचारीको मिलेमतोमा वास्तवमा सूचना प्रकाशित नै नगरी रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले अनुसन्धानका क्रममा भुक्तानीका लागि काटिएको चेकमा नामसमेत केरमेट गरिएको र नगरपालिकाका सरकारी कागजातहरू केरमेट गरी सच्याइएको पाइएको जनाएको छ।

अख्तियारको आरोपपत्रअनुसार, प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भन्दै जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोष्टलाई ३९ हजार ४०० रुपैयाँ गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ गैरकानूनी रूपमा भुक्तानी गरिएको पाइएको छ।


सम्बन्धित समाचार