Logo

२६ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज (सोमबार) विशेष अदालतमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका महतोविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो दाबी गर्दै आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार, रामबाबु महतोले २०४६ वैशाख १९ देखि २०७८ साल फागुन २० सम्म काठमाडौं महानगरपालिकामा काम गरेको अवधिमा उनको आय र व्यय अमिल्दो देखिएको थियो। अख्तियारको अनुसन्धानबाट उनको जीवनस्तर अस्वाभाविक रूपमा उच्च रहेको पुष्टि भएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएअनुसार, महतोको ३२ वर्षको जागिर अवधिमा ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँको मात्र स्रोत खुलेको छ। तर, उनको सम्पत्ति, खर्च तथा लगानी भने ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ देखिएको छ। यसरी, ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको सम्पत्तिको स्रोत नखुलेकाले त्यसैलाई बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

इन्जिनियर रामबाबुले गैरकानूनीरूपमा कमाएको सम्पत्तिबाट श्रीमती माला कुमारी महतोको नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात समेत देखिएको अख्तियारले जनाएको छ। सो सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती माला कुमारी महतोलाई पनि प्रतिवादी बनाइएको छ।


सम्बन्धित समाचार