Logo

२६ जेठ, वीरगञ्ज । मध्य जेठमै नेपाल प्रवेश गरिसकेको मनसुन सक्रिय नहुँदा देशभर गर्मी तीव्र रुपमा बढेको छ। मनसुन पूर्वी नेपालको कोशी प्रदेशमा एक-दुई दिन सक्रिय भए पनि हाल देशभर निष्क्रिय अवस्थामा छ, जसको प्रत्यक्ष असर तापक्रममा देखिएको छ।

नेपालगञ्जमा हिजो देशभरकै उच्च तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी धनगढीमा ४०.२ डिग्री र भैरहवामा ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । तराई-मधेसका अन्य क्षेत्रमा समेत तापक्रम उच्च देखिएको छ । काठमाडौं उपत्यकामा समेत गर्मी बढ्दै गएको छ, जहाँ हिजो अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर फैलिन अझै कम्तीमा एक हप्तादेखि दस दिन लाग्न सक्छ । उनका अनुसार हाल कोशी र लुम्बिनी प्रदेश तथा पहाडी भेगका केही भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। भोलिदेखि भने वर्षा गराउने प्रणाली केही सक्रिय हुने देखिएको र गर्मीबाट केही राहत मिल्ने अनुमान गरिएको छ ।

पश्चिम र मध्य नेपालमा अझै मनसुन प्रवेश नगरेको अवस्थामा देशका धेरै ठाउँमा विगत केही दिनदेखि टन्टलापुर घाम लागिरहेको छ। लगातारको गर्मीका कारण जनजीवन प्रभावित बन्न थालेको छ । अस्पतालहरूमा रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्ने लगायत गर्मीजन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकको सुझाव: सावधानी अपनाऔं
चिकित्सकहरूका अनुसार गर्मीबाट बच्नका लागि दिउँसोको चर्को घाममा बाहिर ननिस्कनु, निस्कनै परेमा छाता वा टोपीको प्रयोग गर्नु, शितल छहारीमा बस्नु, प्रशस्त पानी, जुस वा सर्वत पिउनु अत्यावश्यक छ । विशेषगरी वृद्ध, बालबालिका र दीर्घरोगीहरूलाई अझ बढी सतर्क रहन आग्रह गरिएको छ ।

मनसुन विस्तार हुन ढिलाइ हुँदा तत्काल मौसममा उल्लेखनीय सुधार हुने सम्भावना कम देखिएको हुँदा जनस्वास्थ्यमा असर कम गर्न पूर्वसावधानी अपनाउन मौसमविद् र चिकित्सकहरूले सुझाव दिएका छन् ।


सम्बन्धित समाचार