Logo

२७ जेठ,काठमाडौं ।सन् २०२३ देखि जातीय तनावमा रहेको भारतको मणिपुर राज्यमा पुनः दंगा भड्किएपछि भारत सरकारले कफ्र्यु लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरेको छ। यसले शान्ति स्थापनाको प्रयासमा थप चुनौती थपेको छ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार, बहुसंख्यक मेइतेइ समुदायका गुरिल्ला नेता असिम करन सिंहलाई मणिपुरको विमानस्थलबाट पक्राउ गरिएको थियो। उनीसहित पाँचजना शीर्ष नेताहरूको गिरफ्तारीपछि राज्यमा झनै तनाव चुलिएको जनाइएको छ।

पक्राउपछि विभिन्न स्थानमा प्रदर्शन चर्किएको र हिंसा सुरु भएको जनाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यसले आम जनजीवनमा थप असर पारेको छ।

मणिपुर राज्यमा बहुसंख्यक हिन्दू मेइतेइ र अल्पसंख्यक इसाई कुकी समुदायबीच अधिकार बाँडफाँड र आरक्षणको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। मेइतेइ समुदायले कुकीलाई दिइएको आरक्षणप्रति असन्तुष्टि जनाउँदै आएको छ भने कुकी समुदायले आफूहरूको अधिकार सुनिश्चित भएको बताउँदै प्रतिवाद गरिरहेका छन्।

जातीय तनाव नियन्त्रणमा लिन भारत सरकारलाई हम्मेहम्मे परेको छ। पछिल्लो हिंसा नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाइएको छ, तर तनावको मूल कारणमा ठोस समाधान नहुँदा राज्यमा शान्ति स्थापना अझै चुनौतीपूर्ण देखिएको छ।


सम्बन्धित समाचार