
२७ जेठ काठमाडौ. । राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ ।
सरकारले ल्याएको नागरिकता विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । राज्य व्यवस्था समितिको आजको बैठकले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । समिति सभापति खतिवडाका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छ । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य आवश्यक पथ्र्याे ।
आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।
त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ । यो विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउनेछन् ।