
१ असार,वीरगञ्ज । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ । लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा सहकारीको कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।
प्रहरीले यस सहकारी ठगी प्रकरणको अनुसन्धान १४ वैशाखमै सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेसहितका २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
हाल लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
सानो पाइला सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको यो सहकारीले करिब ८०० बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्यसमेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिहरूलाई ऋण दिएर रकम अपचलन गरेको आरोप लागेको छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरी अपचलन गरेको दाबी गरिएको छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख रुपैयाँ, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख रुपैयाँ र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख रुपैयाँ कर्जा प्रवाह गरिएको विवरण मुद्दामा उल्लेख छ । यस मुद्दाले सहकारी क्षेत्रमा व्याप्त अनियमितता र उच्च पदस्थ व्यक्तिहरूको संलग्नतालाई पुनः प्रकाशमा ल्याएको छ ।
यो पनि पढ्नुहोस :-
पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी अपचलन मुद्दा दर्ता