Logo

१२ असार, काठमाडौं । भारतको दिल्लीमा क्यान्सरको नक्कली औषधि बिक्री गर्ने गिरोहमाथि अनुसन्धान गरिरहेको भारतीय क्राइम ब्रान्चले नेपाल कनेक्सन फेला पारेको छ। अनुसन्धानका क्रममा ठूलो परिमाणमा नक्कली क्यान्सर औषधि काठमाडौं हुँदै भारत भित्रिएको पत्ता लागेको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ।

भारतीय प्रहरीले नेपालबाट औषधि पठाउने व्यक्तिको समेत पहिचान गरिसकेको र चाँडै पक्राउ पर्ने दाबी गरेको छ। यद्यपि, नेपाल प्रहरीका अधिकारीहरूले भने यसबारे आफूहरूलाई कुनै जानकारी नभएको र भारतीय पक्षबाट कुनै समन्वय नभएको बताएका छन्।

कसरी भित्रियो नक्कली औषधि

जुनको पहिलो साता दिल्ली प्रहरीले अनधिकृत रूपमा दर्ता नभएका क्यान्सरका औषधि बिक्री गर्ने एक गिरोहलाई भण्डाफोर गरेको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गरिएको सोधपुछका क्रममा ती औषधिहरू नेपालको काठमाडौं हुँदै भारत भित्रिएको खुलासा भएको भारतीय अधिकारीहरूले बताएका छन्।

मुख्य अभियुक्त फरार, रुट परिवर्तन

यस प्रकरणका मुख्य अभियुक्त नवीन आर्य हालसम्म फरार छन्। उनी दिल्लीको चाँदनी चोकमा भागिरथ प्यालेस क्यान्सर एण्ड हेपटाइटिस उपचार केन्द्र चलाउँथे। आर्य यसअघि पनि यस्तै मुद्दामा पक्राउ परी जमानतमा छुटेका व्यक्ति हुन्। जेलबाट छुटेपछि उनले नक्कली औषधिको धन्दा पुनः सुरु गरेको र यसपटक नेपालतर्फबाट औषधि ल्याउन थालेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

क्राइम ब्रान्चका डेपुटी कमिश्नर अफ पुलिस (डीसीपी) विक्रम सिंहले बरामद गरिएका सबै औषधि नक्कली पाइएको पुष्टि गरेका छन्।

नगद कारोबार र सामाजिक सञ्जालको प्रयोग

प्रहरीका अनुसार यो गिरोहले नगद कारोबार मात्रै गर्ने भएकाले पैसाको स्रोत पत्ता लगाउन कठिन भइरहेको छ। नवीन आर्यले अनलाइन अर्डर लिने र ह्वाट्सएपमा कुराकानी गर्ने हुँदा कुनै डिजिटल प्रमाण बाँकी नरहेको डीसीपी सिंहले बताए।

अभियुक्तहरूले सामाजिक सञ्जालका समूहहरू प्रयोग गरी क्यान्सरका बिरामीहरूलाई लक्षित गर्ने र महँगा औषधि छुटमा दिने भन्दै प्रलोभन देखाउने गरेको पाइएको छ। दिल्लीको लक्ष्मीनगर, बुढ विहार र चाँदनी चौकमा छापा मारेर ६ जनालाई पक्राउ गर्दा लाखौं मूल्य बराबरका नक्कली औषधिहरू बरामद भएका थिए। पछि थप दुई व्यक्ति पक्राउ परेका थिए, जसले ती औषधिहरू काठमाडौं हुँदै भारत भित्र्याएको बयान दिएका थिए।

भारतीय प्रहरीले अन्य राज्यहरूमा दर्ता भएका यस्ता मुद्दाहरूमा पनि अनुसन्धान गरिरहेको र पुरानो फाइलहरू समेत हेरिरहेको जनाएको छ।


सम्बन्धित समाचार