
१३ असार, काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा अन्तिम रूप दिन आज बोर्ड बैठक बस्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। उहाँका अनुसार नतिजा प्रकाशनका लागि औपचारिक निर्णय आवश्यक भएकाले आज बोर्ड बैठक बस्न सक्नेछ । यद्यपि बैठकको समय भने तोकिएको छैन।
२०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । यस वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि (पुनः परीक्षा)तर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले यसअघि नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । अब आजको बैठकपछि नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।