
१४ असार, वीरगञ्ज । भारत–नेपाल सीमास्थित रक्सौल रेलवे स्टेशनमा पछिल्ला दिनहरूमा आवारा पशुहरूको आतङ्क बढ्दै गएको छ । विशेषगरी स्टेशनको प्लेटफर्म नम्बर १ मा साढे र गाईजस्ता जनावरहरूको जमघटले यात्रुहरू त्रसित भएका छन्, भने ट्रेन सञ्चालनमा समेत असर परेको छ ।
शुक्रबार बिहानको घटनाले यस समस्याको गम्भीरता झनै उजागर गर्यो । रक्सौलबाट हावड़ा जान तयार रहेको मिथिला एक्सप्रेसको प्रतिक्षामा सयौँ यात्रुहरू प्लेटफर्ममा भेला भएका थिए । सोही बेला एक साँढे अचानक प्लेटफर्ममा पसेर यात्रुहरूको झोला र सामान सुँघ्न तथा खान खोज्न थाल्यो । यात्रुहरूले भगाउने प्रयास गर्दा साढे आक्रोशित भई दौडिन थाल्यो, जसले भगदौडको स्थिति सिर्जना भयो । यस क्रममा धेरै यात्रु आत्तिएका थिए भने बालबालिका, महिला र वृद्ध यात्रुहरू विशेष रूपले प्रभावित भएका थिए । तर कुनै मानविय क्षति नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको समयमा सुरक्षा निकाय ‘जीआरपी (रेल्वे प्रहरी) वा आरपीएफ (रेल्वे सुरक्षा फोर्ष)’ को कुनै पनि उपस्थिति नदेखिनु यात्रुहरूको लागि थप चिन्ताको विषय बनेको थियो । उनीहरूले यस्तो संवेदनशील स्थलमा सुरक्षा व्यवस्था नहुनु गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।
स्थानीय बासिन्दा र नियमित यात्रुहरूले प्रशासनसँग तत्काल कारबाहीको माग गरेका छन् । उनीहरूका अनुसार , “यो केवल असुविधा होइन, यात्रुको ज्यान जोखिममा परेको अवस्था हो । आवारा पशुहरूको नियन्त्रण र प्रभावकारी सुरक्षा व्यवस्था अब तुरुन्त लागू गरिनुपर्छ ।”
रक्सौल रेलवे स्टेशन नेपाल–भारतबीचको प्रमुख नाका मात्र नभई व्यापार तथा आवागमनको केन्द्र पनि हो, जहाँ दैनिक हजारौँ यात्रुहरूको चहलपहल हुने गर्दछ । यस्तो महत्त्वपूर्ण स्थानमा पशु नियन्त्रणको कमी र सुरक्षाको उपेक्षाले यात्रुहरूको विश्वासमा धक्का पुर्याएको छ ।
सम्बन्धित निकायहरूले यस समस्यालाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न चौतर्फी आवाज उठ्न थालेको छ ।