
१४ असार, काठमाडौँ । भारतको छत्तीसगढ राज्यस्थित बीजापुर जिल्लामा १३ जना कट्टर नक्सलवादीले आत्मसमर्पण गरेका छन्। राज्यका उपमुख्यमन्त्री विजय शर्माले यस उपलब्धिको श्रेय प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरूलाई दिनुभएको छ। उहाँका अनुसार यी योजनाहरूले राज्यमा परिवर्तनको नयाँ वातावरण सिर्जना गरिरहेका छन्।
उपमुख्यमन्त्री शर्माले भन्नुभयो, “यो आत्मसमर्पण प्रदेश सरकारको ’आत्मसमर्पण तथा पुनर्वास नीति–२०२५’ र ’नियद नेल्ला नार योजना’ को प्रत्यक्ष सफलता हो। यस योजनाका कारण नक्सल प्रभावित क्षेत्रहरूमा विश्वास र रूपान्तरणको नयाँ लहर फैलिएको छ।“ उहाँले थप्नुभयो, “राज्यमा अहिले कानूनको शासन छ। अघिल्लो सरकारका पालामा प्रहरीले नै मनोबल गुमाएको थियो, तर हाम्रो सरकारले त्यो विघटित व्यवस्थामा सुधार गरिरहेको छ।“
कांग्रेस अध्यक्ष खड्गेको भ्रमणबारे उपमुख्यमन्त्री शर्माको कटाक्ष
यसैबीच, कांग्रेस पार्टीका अध्यक्ष मल्लिकार्जुन खड्गेको छत्तीसगढ भ्रमणलाई लिएर उपमुख्यमन्त्री शर्माले कटाक्ष गर्नुभएको छ। कांग्रेसले खड्गेको भ्रमणलाई ’संजीवनी’सरह मानेको बताइरहेका बेला शर्माले टिप्पणी गर्नुभयो, “खड्गेले सनातन परम्पराको अपमान गर्छन्, त्यसैले म उनको आलोचना गर्छु। उनको आगमनबाट राज्यलाई कुनै लाभ हुने छैन। छत्तीसगढका जनताले उनलाई स्वागत गर्नेवाला छैनन्। कांग्रेसमा संजीवनी आउने कि नआउने भन्ने कुरा त कांग्रेसकै नेताहरूले ठम्याउने कुरा हो। उनको आगमनले के हुन्छ, त्यो म भन्न सक्दिनँ।“
भाजपाको प्रशिक्षण शिविर ’पर्यटन’ नभएको उपमुख्यमन्त्रीको दाबी
प्रदेशमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) ले ठूलो स्तरमा तीनदिने प्रशिक्षण शिविरको आयोजना गर्न लागेको छ। यो कार्यक्रम आगामी जुलाई ७ देखि ९ सम्म सञ्चालन हुने छ। तर, कांग्रेसले यस कार्यक्रमलाई ’पर्यटन’ को सङ्ज्ञा दिँदै आलोचना गरेको छ।
यसबारेमा उपमुख्यमन्त्री शर्माले कांग्रेसको आलोचनाको खण्डन गर्नुभयो। उहाँले भन्नुभयो, “कांग्रेसलाई लाग्छ उनीहरूले सबै पढिसकेका छन्। प्रशिक्षण शिविर संगठन सुदृढ बनाउन समय–समयमा गरिनु सामान्य कुरा हो। कांग्रेस यसलाई पर्यटन भन्छ भने त्यो उनीहरूको सोच हो। तर, उनीहरूले विगतका सरकारमा भएको कोइला घोटाला, रक्सी घोटालालगायतका धेरै अनियमितताबारे गम्भीर हुन जरुरी छ।“