Logo

१५ असार, काठमाडौं । इरानको न्यायपालिकाले आइतबार दिएको जानकारी अनुसार यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा तेहरानको इभिन कारागारमा भएको इजरायली आक्रमणमा कम्तीमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ। अधिकारवादी समूहहरूका अनुसार यो जेलमा राजनीतिक बन्दीका साथै विदेशी नागरिकहरू पनि राखिएका थिए।

न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये इभिन जेल पनि एक रहेको बताउनुभयो। तेहरानको उत्तरी क्षेत्रमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो।

जहाँगीरका अनुसार इभिनमा मारिनेहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरूका साथै जेल नजिकै बसोबास गर्ने केही व्यक्तिहरू पनि थिए। न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरहरूमा भवनको पर्खाल र छाना भत्किएको, छरिएका भग्नावशेष र प्रतीक्षालयमा क्षति पुगेको देख्न सकिन्छ।

अदालतले इभिनको मेडिकल सेन्टर र भेटघाट कक्षलाई निशाना बनाइएको बताएको छ। आक्रमणको भोलिपल्ट मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट कैदीहरूलाई पहिचान नगरी अन्यत्र स्थानान्तरण गरिएको बताएको थियो।

स्मरण रहोस्, इभिन कारागारमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिकहरू रहेका छन्।


सम्बन्धित समाचार