Logo

फाइल तस्वीर

१७ असार, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा विदेश जाने यात्रुको संख्यामा उल्लेख्य गिरावट आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको असुलीबारे छानबिन तीव्र पारेपछि यो कमी देखिएको हो।

दैनिक यात्रु संख्यामा गिरावट

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले पहिले दैनिक ९ देखि १० हजारसम्म यात्रु भिजिट भिसामा विदेशिने गरेकोमा अहिले यो संख्या घटेर ६ हजारदेखि ७ हजारसम्म पुगेको बताए। अनुसन्धान चलिरहेको बेला समेत केही युवा विदेशिएको पाइएपछि अध्यागमनले कडाई गरेको र त्यसैको परिणामस्वरुप संख्या घटेको उनको भनाइ छ। पूर्ण कागजात नभएका यात्रुहरूलाई अहिले विशेष कडाई गरिएको छ।

अख्तियारको छानबिन र संगठित असुलीको जालो

विमानस्थल अध्यागमनमा भिजिट भिसाको आवरणमा लामो समयदेखि संगठित असुली भइरहेको सूचना पाएपछि अख्तियारले करिब डेढ महिनाअघिदेखि गोप्य अनुसन्धान थालेको थियो। ठोस प्रमाण भेटिएपछि अख्तियारले जेठ ५ गतेदेखि कोभर्ट अपरेसनु सुरु गर्‍यो।

तर, अपरेसनको तेस्रो दिनमै गृह प्रशासनलाई सूचना चुहिएपछि तत्कालिन विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको मन्त्रालयमा सरुवा गरिएको थियो। यसपछि अख्तियारले भोलिपल्टै कार्यालयमा छापा मारेर भट्टराईलाई नियन्त्रणमा लिएको थियो। भट्टराईको हठात् सरुवालाई लिएर गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको थियो, किनकि उनको सचिवालयमा समेत पहिले भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीहरू कार्यरत रहेको पाइएको थियो।

गम्भीर अनियमितताका घटना

अख्तियारको अनुसन्धानले विभिन्न गम्भीर अनियमितताहरू उजागर गरेको छ  । बिना एनओसी भारतीय नागरिकलाई विदेश प्रेषणस् सहसचिव तीर्थराज भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा चार महिनामा २१२ जना भारतीय नागरिकलाई नो अब्जेक्सन लेटर बिना नै विदेश पठाइएको खुलेको थियो। यस विषयमा भारतीय दूतावासले पनि चासो देखाएको थियो र अख्तियारको छानबिन अझै जारी छ। अख्तियारका एक अधिकृतका अनुसार, बिना एनओसी विदेश पठाएको मात्र नभई नक्कली एनओसी प्रयोग गरी र भारतमा अपराधमा संलग्न व्यक्तिहरूलाई समेत विदेश पठाएको विषयमा छानबिन भइरहेको छ।

कालोसूचीमा रहेका व्यक्ति फरार

भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका जागेश्वर शाह कालोसूचीमा हुँदाहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उम्किएको भेटिएको थियो। भारतीय दूतावासले जागेश्वर र उनका छोरा आशिफ शाहलाई कालोसूचीमा राख्न पत्राचार गरेको र अध्यागमनको सफ्टवेयर ‘नेपाली पोर्ट’ मा पनि उनीहरूलाई कालोसूचीमा राखिएको थियो। तर, कालोसूचीमा राखेको भोलिपल्टै जागेश्वर विमानस्थलबाट उडेका थिए। यस घटनालाई गृह प्रशासनले ‘प्राविधिक गडबडी’ भन्दै दुई जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो।


सम्बन्धित समाचार