Logo

१७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक–२०८२ मा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको हेरफेरको छानबिनको माग गरेका छन्।

सभामुख देवराज घिमिरेसँगको भेटमा उनले आफूमाथि पनि छानबिन गर्न आग्रह गरेका हुन्। खतिवडाले समितिबाट विधेयक पारित गर्दा ‘अवकाश भएको मितिले २ वर्ष नभई कुनै पनि राष्ट्रसेवक कर्मचारीले अर्को नियुक्ति नपाउने’ भनेर स्पष्ट उल्लेख गरिएको बताएका छन्। तर, पछि दफा थपिएर ‘बाहेक’ भन्ने शब्द घुसाइएकोमा उनले आपत्ति जनाए।

हामीले निर्णय गर्दा कुलिङ पिरियडको विषय स्पष्ट उल्लेख गरेका थियौँ,’ खतिवडाले भने, ‘त्यसैको मुनि दफा थपिएर गएको थाहा पायौँ। कसको गल्तीले यो ‘बाहेक’ भन्ने कुरा गयो, लेखियो, छानबिनको माग गरेका छौँ। यो संसद्‌माथिको प्रहार हो। कानुन बनाउँदा यस्तो गल्ती हुनै हुँदैन।’

आफूमाथि पनि छानबिनको माग

खतिवडाले यस घटनामा आफूमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्। ‘म आफैँमाथि पनि छानबिन हुनुपर्छ। मेरो दोष देखिए कारबाहीको दायरामा आउन चाहन्छु भनी सभामुखलाई आग्रह गरेका छौँ, उनले थपे। उनले छानबिन नभएसम्म समितिको बैठक नबस्ने जानकारी पनि सभामुखलाई गराएका छन्।

खतिवडाको यो भनाइले कुलिङ पिरियड विवादलाई थप गहिराइमा पुर्‍याएको छ। यस प्रकरणको छानबिन कसरी अघि बढ्छ र कसलाई जिम्मेवार ठहराइन्छ, त्यो भने हेर्न बाँकी नै छ।


सम्बन्धित समाचार