Logo

१७ असार, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाको भोली हुने भनिएको नगरसभा पनि स्थगित हुने संभावना बढेको छ । मेयर र वडाअध्यक्ष विच बजेटको सिलिङ तोक्ने बिषयमा सहमति हुन नसकेपछि दोश्रो पटक डाकिएको बैठक समेत अन्योल देखिएको हो ।

जीतपुरसिमराले आगामी आर्थिक बर्षका लागि ३० करोड सम्म खर्च गर्न मिल्ने बजेटमा वडा अध्यक्ष र मेयर–उपमेयर विच बजेट बाँडफाँडमा कुरा नमिलेपछि नगरसभा दोश्रो पटक पनि हुन नसक्ने स्थितीमा पुगेको हो ।

यसअघि गत असार ९ गते बोलाइएको नगरसभामा पनि बजेटको सिलिङको बिषयमा सहमति हुन नसकेपछि असार १८ गते दोश्रो बैठक बस्नेगरी स्थगित भएको थियो । मंगलबार (आज) मेयर र वडा अध्यक्ष विच भएको छलफलमा वडा अध्यक्षहरुले २७ करोड बजेट मागेपछि कुरा नमिलेको हो ।

तोकिएको सिलिङमा वडाअध्क्षहरुले सहमति नजनाएकोले भोली हुने भनिएको नगरसभा समेत प्रभावित हुने अवस्थामा पुगेको मेयर राजन पौडेलले बताए । मैले खर्च गर्न मिल्ने बजेटको बाडफाँड प्रतिशतको आधारमा गरौ भने तर वडा अध्यक्षज्यूहरुले मान्नु भएन, मेयर पौडेलले भने, “भोली हुने भनिएको नगरसभा पनि स्थगित हुने अवस्था देखेको छु ।”

जीतपुर सिमराका मेयर राजन पौडलले ३० करोडलाई शतप्रतिशत मानेर नगरस्तरीय योजना अन्तरगत मेयरले खर्च गर्न पाउँनेगरी ३५ प्रतिशत, वडाअध्यक्षहरुको लागि ५० प्रतिशत र बाँकी रकम उपमेयर र कार्यपालिका सदस्यहरुले खर्च गर्न पाउँने गरी १५ प्रतिशत सिलिङ राख्न प्रस्ताव गरेको एक कार्यपालिका सदस्यले बताए ।

मेयरले राखेको प्रस्ताव अनुसार वडा अध्यक्षहरुले खर्च गर्न पाउँनेगरी १५ करोड, मेयरले नगर स्तरीय योजनाको लागि १० करोड ५० लाख र उपमेयर सहित अन्य कार्यपालिका सदस्यहरुको लागि ४ करोड ५० लाख बजेट तय गरिएको थियो । तर उक्त प्रस्तावमा वडाअध्यक्षहरुले विरोध जनाएपछि सहमति हुन नसकेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाईले भोलीको लागि सिमरामा रहेको क्लासिक होटलमा दिनको १ बजे बस्ने गरी नगरसभाको बैठक डाकिएको सूचना जारी गरेका छन् । तर जनप्रतिनिधिहरु विच बजेटको सिलिङ नमिल्दा भोली हुने भनिएको बैठक समेत स्थगित हुने सम्भावना देखिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा उपमेयर सहित एमालेबाट निर्वाचित वडा अध्यक्षहरुको बहुमत छ । मेयर पौडेललाई विकास निर्माणको काममा अवरोध गर्ने उदेश्यले बजेटमै निषेध गर्न खोजीएपछि सहज रुपमा नगरसभा अगाडी बढने संभावना नदेखिएको एक कार्यपालिका सदस्यले बताए ।


सम्बन्धित समाचार