
१८ असार, वीरगञ्ज । कोलकाताको एक कानून कलेजमा छात्रामाथि भएको सामूहिक बलात्कारको घटनाले देशभरि तहल्का मच्चाएको छ । अनुसन्धान अघि बढ्दै जाँदा लगातार नयाँ तथ्यहरू बाहिर आउन थालेका छन् । प्रहरीका अनुसार, मुख्य आरोपी मनोजित मिश्रा विगत एक दशकदेखि कलेज परिसरमा डर र त्रास फैलाउँदै आएका थिए ।
केटीहरू उनलाई देखेर बाटो परिवर्तन गर्थे, तर उनीविरुद्ध बोल्न सक्दैनथे। पश्चिम बंगालका विभिन्न प्रहरी चौकीहरूमा उनका विरुद्ध धेरै उजुरीहरू दर्ता छन्, तर राजनीतिक प्रभावका कारण १५ भन्दा बढी पीडित केटीहरू चुप लागेका छन् ।
मनोजितको कालो इतिहासको पर्दाफास तब भयो जब जून २५ मा कलेज परिसरकै सुरक्षा गार्डको कोठामा एक छात्रामाथि सामूहिक बलात्कार भएको पुष्टि भयो । यस घटनामा मनोजित र उनका दुई साथीहरू पक्राउ परेका छन् ।
हालै सार्वजनिक भएको मेडिकल रिपोर्टमा पीडितसँग जबरजस्ती यौन सम्बन्ध बनाइएको स्पष्ट प्रमाण भेटिएको छ । साथै, आरोपीको शरीरमा टोकेको र ताजा घाउका निशानहरू फेला परेका छन्, जुन प्रहरी स्रोतअनुसार पीडितले आफूलाई जोगाउने क्रममा दिएको बताएका छन् ।
घटनापछि मनोजितले उपप्राचार्यसँग गरेका थिए कुरा
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, मनोजित मिश्राको शरीरमा देखिएका घाउ र चोटका निशानहरू स्पष्ट रूपमा पीडितको प्रतिरोधका प्रमाण हुन्। यस घटनाको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी)ले आरोपीहरूको कल डिटेल रेकर्ड (सीडीआर) संकलन गरेको छ । अनुसन्धानमा खुलासा भएको छ कि घटनाको भोलिपल्टै मनोजितले कलेजकी उपप्राचार्य डा. नयना चटर्जीसँग फोनमा कुरा गरेका थिए । प्रहरीले डा. चटर्जीसँग दुई पटक सोधपुछ गरिसकेको छ र यो फोनवार्ता किन, कुन सन्दर्भमा, र के कुरा गर्नका लागि भएको थियो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको छ । अधिकारीहरू घटनापछि तुरुन्तै भएको यो संवादको उद्देश्य पत्ता लगाउन गहिरो रूपमा जुटिरहेका छन् ।
तीन आरोपीको प्रहरी रिमान्ड जुलाई ८ सम्म बढ्यो
मुख्य आरोपी मनोजित मिश्राका अलावा अन्य दुई आरोपी जैब अहमद र प्रमित मुखर्जीलाई जुन २७ मा पक्राउ गरिएको थियो । पहिले उनीहरूलाई चार दिनको प्रहरी रिमान्ड दिइएको थियो, तर मंगलबार अलिपुर कोर्ट (अदालत) ले प्रहरीको अपीलमा तीनै जनाको रिमान्ड (म्याद थप) जुलाई ८ सम्म बढायो । चौथो आरोपी पिनाकी बनर्जी, जो घटनाको समयमा कलेजको सुरक्षा गार्ड थिए । उनलाई पनि शनिबार पक्राउ गरिएको थियो । उनलाई पनि जुलाई ४ सम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । प्रहरीको भनाइ अनुसार यस मुद्दामा अझै धेरै कुरा आउन बाँकी रहेको हुँदा उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको माग गरिएको छ ।
अदालतमा सयौं वकिलहरू प्रवेश गरे, तनावपूर्ण स्थिति बन्यो
अदालतमा सुनुवाइको क्रममा सयौं वकिलहरू बिना अनुमति प्रवेश गरेपछि स्थिति तनावपूर्ण बन्यो । दुई पक्षबीच चर्को बहस भयो, जहाँ एक पक्षले आरोपीहरूलाई कडा सजाय दिन माग गरिरहेको थियो भने अर्को पक्ष निष्पक्ष अनुसन्धानको पक्षमा उभिएको थियो। आरोपीका वकिलहरूले आफ्ना मुवक्किलहरू अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए र सत्य बाहिर ल्याउन चाहेको बताए । साथै, मिडिया ट्रायलबाट बच्न र आरोपीलाई दोषी ठहर गर्न हतार नगर्न अदालतसँग अनुरोध गरे। उनीहरूले सोधपुछ र अपराध स्थलको अनुसन्धानमा समेत उपस्थिति रहने अनुमति माग गरेका थिए। अदालतमा वकिलहरूको प्रवेश र विवादले केही समयका लागि हंगामाको अवस्था सिर्जना भएको थियो ।
मेडिकल स्टोरको सीसीटीभी फुटेजबाट महत्वपूर्ण खुलास
प्रहरी अनुसन्धानको क्रममा अर्को महत्वपूर्ण प्रमाण बाहिर आएको छ । एक मेडिकल स्टोरको सीसीटीभी फुटेजबाट पुष्टि भएको छ कि आरोपी जैब अहमदले पीडितका लागि इनहेलर किनेका थिए । पीडितको उजुरीमा पनि यस इनहेलरको कुरा उल्लेख छ । उनले भनेकी थिइन् कि सामूहिक बलात्कारको क्रममा जब उनको अवस्था बिग्रियो तब उनले इनहेलर मागेकी थिइन्, जुन पछि जैबले लिएर आएका थिए । तर इनहेलर लिएपछि पीडितलाई फेरि शारीरिक र मानसिक यातना दिइयो । प्रहरीले मेडिकल स्टोरका मालिकसँग पनि सोधपुछ गरिरहेको छ ।
ट्रिपमा मनोजितले अर्की छात्रासँग गरे छेड़छाड
यसैबिच अर्की युवतीले पनि आरोपी मनोजितमाथि गम्भीर आरोप लगाएकी छन् । इन्डिया टुडेसँगको विशेष कुराकानीमा उनले दुई वर्षअघि कलेज ट्रिपको क्रममा मनोजितले आफूमाथि छेड़छाड़ गरेको दाबी गरिन् । उनका अनुसार, सुरुमा सबै सामान्य थियो, तर केही समयपछि मनोजितले आपत्तिजनक व्यवहार देखाउन थाले । उनले भनिन् – पहिले घुरेर हेर्नु, अश्लील हर्कत गर्नु, र अन्ततः मौका पाउँदा जबरजस्ती छुन थाल्नु जस्ता व्यवहार मनोजितले देखाएको प्रष्ट गरिन् । जब उनले यसविरुद्ध आवाज उठाइन्, उनलाई कुटपिट गरियो र पूरै परिवारलाई ज्यान मार्ने धम्की दिइयो । पीडितका अनुसार, यो घटना शैक्षिक ट्रिपको समयमा भएको थियो, जहाँ उनी कलेजको प्रतिनिधित्व गर्दै गएकी थिइन् ।
पीडितको दाबी १५ केटीहरू बनिसकेका छन् शिकार
पीडित छात्राले भनिन्, “म उजुरी गर्न चाहन्थें, तर कलेज प्रशासनले मलाई दबाब दियो । उनीहरूले मनोजितलाई कुनै विधायकको समर्थन रहेको बताए । उनी गभर्निंग बडीका प्रमुख पनि हुन् । सबै कुरा उनकै इशारामा चल्छ ।” छात्राले आरोपीलाई कलेजमा विशेष दर्जा प्राप्त रहेको बताइन् । उजुरी गर्दा पीडितहरूलाई नै दोषी ठहर्याइन्थ्यो । धेरै पटक लिखित रूपमा उजुरी दिइयो, तर कहिल्यै कुनै कारबाही भएन । आफु लगायत कलेजमा कम्तिमा १५ अन्य छात्रा मनोजित मिश्राको यस्ता गन्दा हरकतको शिकार भइसकेका उनले दाबी गरिन् ।