
१९ असार, काठमाडौँ । इन्डोनेसियाको बाली नजिकै ६५ जना यात्रु सवार एक फेरी डुङ्गा डुब्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने २३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।
गएराति भएको उक्त दुर्घटना बालीको एक रिसोर्ट टापुबाट करिब ५० किलोमिटर टाढा रहेको अर्को टापुमा गइरहेको क्रममा भएको हो। डुबेको डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्यसहित २२ वटा सवारी साधन, जसमध्ये १४ वटा ट्रक थिए, सवार थिए।
अधिकारीहरूले बेपत्ता भएकाहरूको जीवित उद्धारको सम्भावना न्यून रहेको बताएका छन्। उद्धारकार्य जारी रहेको जनाइएको छ।
इन्डोनेसिया १७ हजारभन्दा बढी टापुहरूले बनेको राष्ट्र भएकाले यस्तो प्रकारको सवारी आवागमन अत्यन्तै सामान्य छ। यस्तै गरी फेरी डुङ्गा दुर्घटनाहरू पनि यहाँ बारम्बार दोहोरिने गरेका छन्।
यसअघि, सन् २०१८ मा सुमात्रा टापु नजिकै भएको यस्तै डुङ्गा दुर्घटनामा करिब १५० जनाको मृत्यु भएको थियो। सन् २०२२ मा नुसा टेंगारा प्रान्तमा ८ सय जना सवार फेरी अनियन्त्रित भए पनि सबै यात्रु सकुशल रहेका थिए।