Logo

२१ असार, वीरगञ्ज । भारत बिहारको पश्चिमी चम्पारण जिल्लास्थित बगहाको चौतरवा थाना क्षेत्र अन्तर्गत रायबारी महुअवा डीह टोल गाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । आर्थिक संकट र गम्भीर रोगको पीडामा परेका एक पूर्व मुखियाले आफ्नी पत्नीको गोली हानी हत्या गरेपछि आफैँले पनि आत्महत्या गरेका छन् ।

घटना बुधवार राति भएको बताइएको छ । ६५ वर्षीय पूर्व मुखिया अरविन्दलाल श्रीवास्तवले आफ्नी ६० वर्षीया पत्नी आशा देवीलाई गोली हानी हत्या गरेपछि आफूले पनि गोली चलाएर ज्यान लिएका हुन् । दुबैको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।

यो घटनाबारे छिमेकी वा प्रहरीले थाहा पाउने मौका नपाउँदै, परिवारजनले दुबैको शवको अन्त्येष्टि गरेका थिए । यसले घटनाको प्रकृति अझै शंकास्पद बनाएको छ। प्रहरीले यसलाई गम्भीरताका साथ लिएर अनुसन्धान थालिसकेको छ ।

दुई थान लाइसेन्स प्राप्त बन्दुक र सुसाइड नोट बरामद

पुलिसले बिहीवार बिहान घटनास्थलमा पुगेर जब घरको छानबिन गर्‍यो, त्यहाँ दुईवटा लाइसेन्स प्राप्त बन्दुक र एक सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा श्रीवास्तवले आफू क्यान्सर रोगबाट पीडित भएको र आर्थिक संकटले मानसिक रूपमा थलिएको उल्लेख गरेका छन्। सो नोटलाई फरेन्सिक परीक्षणका लागि पठाइएको छ।

३५० बीघा जमिन नदीले बगायो, त्यसपछि क्यान्सरले सतायो

स्थानीय बासिन्दाहरूका अनुसार पूर्व मुखिया श्रीवास्तवसँग एक समय करिब ३५० बीघा जमिन थियो, तर गण्डक नदीको कटानका कारण सारा जमिन नदीमा समायो । त्यसपछि उनलाई क्यान्सरजस्तो जटिल रोग लाग्यो। महँगो उपचार खर्चले परिवारलाई आर्थिक रूपमा कमजोर बनाएको थियो ।

छोरा र भतिजा पक्राउ, प्रमाण मेटाउने प्रयासमा संलग्न रहेको आरोप

बगहा एसडीपीओ कुमार देवेन्द्रका अनुसार, प्रारम्भिक अनुसन्धानमा आर्थिक संकट मुख्य कारण देखिएको छ। तर घटनालाई रहस्यमय बनाउने खालका क्रियाकलापहरू परिवारजनबाट देखिएको भन्दै प्रहरी जाँचमा जुटेको छ । शवको अन्त्येष्टि हतारमा गरेर प्रमाण मेटाउने प्रयास गरेको आरोपमा मृतकका छोरा र भतिजालाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार