Logo

२२ असार,काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको युद्ध समाप्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। इरानी सरकारी टेलिभिजनले शनिबार खामेनीले एक मस्जिदमा नमाजका लागि उपस्थित भएकाहरूलाई अभिवादन गरेको दृश्य प्रसारण गरेको थियो।

यो खामेनीको सार्वजनिक कार्यक्रममा पहिलो भौतिक उपस्थिति थियो। अशुराको सिया पर्वको एक दिनअघि उनी सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

इजरायल–इरान युद्ध उत्कर्षमा पुगेपछि खामेनी बंकरमा लुकेर बसेका थिए। युद्धविरामपछि पनि उनी सार्वजनिक रूपमा देखा परेका थिएनन्। युद्धविराम घोषणा भएको दुई दिनपछि उनको भिडिओ सन्देश सार्वजनिक भएको थियो। उक्त भिडिओले इजरायलसँगको युद्धमा खामेनी पनि मारिएको हुन सक्ने इरानीहरूको चिन्ता कम गरेको थियो, यद्यपि उनको भौतिक उपस्थितिको अभावले विभिन्न प्रश्न र चासोहरू उत्पन्न भएका थिए।

खामेनी आफू पनि मारिन सक्ने भयले बंकरमा लुकेका थिए। विशेषगरी उनका नजिकका सहयोगीहरू मारिएपछि सर्वोच्च नेताको सुरक्षाको जिम्मेवारी लिएको इस्लामिक रिभोलुसनरी गार्ड कोर (IRGC) ले उनलाई अत्यन्त कडा सुरक्षा घेरामा राखेको थियो। देशव्यापी चिन्ता बढेपछि बंकरमै रेकर्ड गरिएको भिडिओ सार्वजनिक गरिएको थियो।

उनले त्यतिबेला इजरायल र अमेरिकालाई इरानले गतिलो जवाफ दिएको बताएका थिए। उनले अमेरिकाले सशक्त आक्रमण गरेको दाबी गरे पनि त्यसको उपलब्धि करिब शून्य रहेको बताएका थिए। इरानी आणविक भट्टीहरू अमेरिकाले दाबी गरेजस्तो सम्पूर्ण रूपमा ध्वस्त नभएको पनि खामेनीले बताएका थिए।


सम्बन्धित समाचार