Logo

२३ असार, सेढवा, पर्सा । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको सुपौली इलाका प्रशासन कार्यालयमा कर्मचारीहरूले बिना घुस सेवा नदिने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन्। जिराभवानी गाउँपालिका–४, सुपौलीमा अवस्थित यस कार्यालयले जगरनाथपुर, जिराभवानी, पटेर्वासुगौली र ठोरी गाउँपालिकाका बासिन्दाहरूलाई सेवा प्रदान गर्दै आएको छ।

तर, सेवा प्राप्त गर्न सेवाग्राहीहरूले निश्चित रकम तिर्नु पर्ने बाध्यता रहेको, नत्र हप्तौँसम्म पालो कुरेर हैरानी भोग्नुपर्ने गुनासोहरू सार्वजनिक भएका छन्।

नागरिकता र परिचयपत्रमा घुसको खुला बार्गेनिङ
जिराभवानी गाउँपालिका–३, नौकाटोल निवासी काशी राय थारुका अनुसार, राष्ट्रिय परिचयपत्र बनाउन टोकन लिएर एक–दुई महिना कुर्नुपर्ने हुन्छ। तर, प्रति फारम एक हजार रुपैयाँ घुस तिर्नेले भने सोही दिन सेवा पाउने गरेको बताए। कार्यालय नजिकै खोलिएका अनलाइन फारम पसलहरूले खुल्लमखुल्ला घुसको बार्गेनिङ गर्ने गरेको थारुको भनाइ छ।

त्यस्तै, जगरनाथपुर गाउँपालिका–३ निवासी धर्म साहले छोरीको परिचयपत्र बनाउन जाँदा फारम भर्ने पसलमा एक हजार रुपैयाँ तिरेपछि काम तुरुन्त भएको जनाए। जबकी रकम नतिर्दा तीन महिना कुर्नु परेको उनले बताए।

सेवाग्राहीलाई कार्यालयमै थुनेको आरोप
झण्डै दुई साता अघि, परिचयपत्र र अन्य कार्यका लागि कार्यालय पुगेका करिब एक दर्जन सेवाग्राहीहरूलाई कार्यालयका कर्मचारीहरूले मुख्य गेटमा ताला लगाएर दुई घण्टा कार्यालयमै थुनेको आरोप पनि सार्वजनिक भएको छ। जिराभवानी गाउँपालिका–२, सेढवाका शिक्षक रामनारायण महतोका अनुसार, कर्मचारीहरूले गेट बाहिरबाट ताला लगाई साँचो लिएर बेपत्ता भएका थिए।

स्थानीय जनप्रतिनिधिहरूको विरोध
ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनले घुस तिर्नेले छिटो सेवा पाउने र नतिर्नेले लामो समयसम्म कुरेर सास्ती भोग्नुपर्ने अवस्था रहेको बताए। आवश्यक कागजात पूरा भइसकेपछि पनि ‘सर्जमिन’ जस्ता बहाना बनाइ सेवाग्राहीलाई झन्झट दिने गरिएको आरोप उनले लगाए ।

वडाध्यक्ष लोप्चनले केही दिनभित्र वडाध्यक्षहरूको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल समक्ष यो विषयमा गम्भीर छलफल गरिने जानकारी दिए ।


सम्बन्धित समाचार
भर्खरै