२९ असार,बेलबारी । मोरङको बेलबारी नगरपालिका–८ बाँसबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया अमिना राजवंशी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिएकी छन्।
प्रहरीका अनुसार, अमिना र ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला शुक्रबार बिहान करिब ३ बजेतिर हात्तीले अमिनामाथि आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट अमिना गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणबाट बन्दना राजवंशी भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर फर्किएको थियो।

















