२९ असार,सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान करिब ९ बजे स्थानीयले दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृत्यु हुनेमा ३५ वर्षीय सुकदेव शर्मा र उनकी अन्दाजी २३ वर्षीया पत्नी सवेता खातुन रहेको सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए।
प्रहरी प्रमुख तिम्सिनाका अनुसार, सुकदेव शर्माको शव फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको छ। उनको शरीर अर्ध नग्न अवस्थामा थियो। सवेता खातुनको शव भने ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको छ।
घटना शंकास्पद देखिएकाले प्रहरीले गहिरो अनुसन्धान गरिरहेको तिम्सिनाले बताएका छन्।

















