Logo

३२ असार, चितवन । मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भारतीय मिनी ट्रक दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन् ।

भारतको लखनऊबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेडएन ७८८३ नम्बरको मिनी ट्रक मंगलबार राति करिब १०:२५ बजे अनियन्त्रित भई सडकबाट करिब ७०–८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, ट्रकमा मेवा लोड गरिएको थियो। दुर्घटनामा ट्रक चालक लखनऊका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन् ।

घाइते दुबै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक त्रिशूली नदी किनारमै अड्किएको र सडक आवागमनमा कुनै अवरोध नपरेको एसपी सुवेदीले जानकारी दिए ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार