Logo

२३ साउन,वीरगञ्ज । पर्सा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकेको सुनिल कुमार साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

देवेन्द्र कुमार कर्णको जाहेरीका आधारमा अदालतले दिएको फैसलाअनुसार साहलाई बिहीबार लुकीछिपी बसेको स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका ३४ वर्षीय साह वीरगञ्ज महानगरपालिका–१६ का बासिन्दा हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, साह अदालतको फैसलापछि फरार रहेका थिए। उनलाई फैसला कार्यान्वयन टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको हो।

सुनिल कुमार साह अम्बे ईन्टरप्राइजेज प्रा.लि.का सञ्चालक हुन्। उनीमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दा नं. ०८०–ऋ१–०९६२, लगत नं. ६३०९ अन्तर्गत अदालतले १० दिन कैद सजायसहित ३० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो।

प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान र थप कानुनी प्रक्रियाका लागि नियन्त्रणमा राखिएको छ। अदालतको फैसला कार्यान्वयन गर्दै दोषीहरूलाई कारबाही गर्न प्रहरी सक्रिय रहेको जनाएको छ।


सम्बन्धित समाचार