Logo

२३ साउन, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (ESA) ले सूर्यको सबैभन्दा बाहिरी तह ‘कोरोना’ को अध्ययन गर्न अद्वितीय प्रविधिको प्रयोग गर्दै आएको छ। ‘प्रोबा–३’ (Proba-3) नामक मिसन अन्तर्गत, एजेन्सीले दुई उपग्रह मार्फत नक्कली सूर्यग्रहण गराउँदै सूर्यको वायुमण्डलीय रहस्य बुझ्ने प्रयास गरिरहेको हो।

सामान्यतः सूर्यको सतहको तापक्रम लगभग ५,५०० डिग्री सेल्सियस हुन्छ, तर यसको बाहिरी तह ‘कोरोना’ को तापक्रम २० लाख डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरू बताउँछन्। कोरोना भनेको त्यस्तो भाग हो जुन केवल पूर्ण सूर्यग्रहणको समयमा थोरै बेरका लागि मात्र देखिन्छ। यही कठिनाइका कारण वैज्ञानिकहरूलाई यस तहको अध्ययन गर्न हम्मे–हम्मे पर्थ्यो।

तर अब, युरोपेली वैज्ञानिकहरूले यो समस्या समाधान गर्न अन्तरिक्षमै सूर्यग्रहणको कृत्रिम अवस्था सिर्जना गरेका छन्। ‘प्रोबा–३’ मिसन अन्तर्गत पठाइएका दुई उपग्रहहरू एकअर्काबाट १५० मिटर टाढा रहँदै १.२७ लाख किलोमिटर प्रतिघण्टा गतिमा सिधा रेखामा परिक्रमा गरिरहेका छन्। तीमध्ये एक उपग्रहले सूर्यलाई अर्को उपग्रहबाट आंशिकरूपमा छेक्छ, जसले गर्दा नक्कली सूर्यग्रहण जस्तो अवस्था सिर्जना हुन्छ।

हप्तामा दुई पटक कृत्रिम ग्रहण

यी उपग्रहहरूले हप्तामा दुई पटक यस्तो कृत्रिम सूर्यग्रहण सिर्जना गर्छन् र यस क्रममा वैज्ञानिकहरूले सूर्यको कोरोनाको सूक्ष्म अध्ययन गर्न सक्नेछन्।

विशेष कुरा के हो भने यो नक्कली ग्रहण न त पृथ्वीबाट देखिन्छ, न त यसको पृथ्वीमा कुनै असर पर्छ। यो सम्पूर्ण प्रक्रिया पृथ्वीको कक्षा बाहिर अन्तरिक्षमै सञ्चालनमा रहेको छ।

महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि

वैज्ञानिकहरूका अनुसार, सूर्यको कोरोनाको असामान्य तापक्रम, प्लाज्मा संरचना र सौर आँधीबारे जानकारी लिन यो मिसन अत्यन्तै उपयोगी सावित हुने अपेक्षा गरिएको छ। सूर्यसँग सम्बन्धित यस्ता अध्ययनहरू सौर प्रणाली र पृथ्वीको मौसम तथा प्रविधिमा पर्ने प्रभाव बुझ्नका लागि पनि अत्यावश्यक मानिन्छ।


सम्बन्धित समाचार