२३ साउन,काठमाडौं ।गाजाको नियन्त्रण लिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध इजरायलमै व्यापक असन्तुष्टि देखिएको छ। टाइम्स अफ इजरायल का राजनीतिक संवाददाता ताल स्नाइडर ले बीबीसीलाई दिएको अन्तर्वार्तामा उक्त जानकारी दिएका हुन्।
स्नाइडरका अनुसार बिहीबार राति मात्र दर्जनौं स्थानहरूमा हजारौं नागरिकहरूले सडकमा उत्रिएर सरकारको विरोधमा प्रदर्शन गरेका छन्। उनले भने, “सरकारले अत्यन्तै अलोकप्रिय निर्णयहरू लिँदैछ। जनता ती कदमहरूलाई समर्थन गर्दैनन्।”
बीबीसी रेडियो ४ को ‘टुडे’ कार्यक्रममा बोल्दै स्नाइडरले इजरायली जनताले नेतान्याहूको गाजा रणनीतिविरुद्ध कडा असन्तुष्टि व्यक्त गरिरहेको बताए। “सबै सार्वजनिक सर्वेक्षणहरूले देखाउँछन् कि अधिकांश जनता गाजा नियन्त्रणको योजनाको कडा विरोधमा छन्,” उनले भने।
स्नाइडरले सरकारमाथि राजनीतिक वा कूटनीतिक समाधान खोज्ने सट्टा बलपूर्वक अगाडि बढ्ने मानसिकता भएको आरोप पनि लगाए। “यसले दीर्घकालीन शान्ति प्रक्रिया झन जटिल बनाउन सक्छ,” उनले चेतावनी दिए।

















