२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन तत्काल फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवामाथि तीव्र दबाब सिर्जना गरेका छन् ।
सोमबार साँझ बसेको पदाधिकारी बैठक र व्यक्तिगत रूपमा समेत नेताहरूले यो माग उठाएका हुन् ।
सरकार छाड्ने पक्षमा कांग्रेस नेताहरू
पूर्वउपसभापति विमलेन्द्र निधि, महामन्त्री गगन थापा, र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सरकारबाट बाहिरिनुपर्नेमा जोड दिएका छन्। विमलेन्द्र निधिले पदाधिकारी बैठकमा नै वर्तमान सरकारबाट तत्काल अलग भई राष्ट्रिय तथा सर्वदलीय सरकार गठनका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने प्रस्ताव राखे। देउवाले सात बुँदे सहमतिुको कुरा उठाउँदा निधिले त्यसको औचित्य सकिएको भन्दै नयाँ परिस्थितिका लागि सोही सहमतिलाई आधार मानेर सर्वदलीय सरकार गठन गर्न सकिने तर्क गरे।
गगन थापाले सामाजिक सञ्जालमार्फत जेन-जी प्रदर्शनमा भएको दमनपछि कांग्रेस सरकारमा बसिरहनु उचित नभएको बताएका छन् । उनलेअबोध युवाहरूको अनाहकमा भएको मृत्युुले आफू र सिंगो नेपाल नै रातभर सुत्न नसकेको उल्लेख गर्दै अब एक दिन पनि यो परिस्थितिको साक्षी र साझेदार बन्न नसकिने धारणा राखे। उनले पार्टी बैठकबाट सरकारबाट बाहिरिने निर्णय गराउन आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
महालक्ष्मी उपाध्यायले सत्ता मोह त्याग्न र जनतासँग माफी माग्न कांग्रेसलाई आग्रह गरिन्। उनले हालैका घटनाहरूले जनतामा गहिरो आघात पुगेको भन्दै कांग्रेसले आत्मसमीक्षा गरी सही बाटो पहिल्याउनुपर्नेमा जोड दिइन्।
देउवाको अनिच्छा
नेताहरूको यो दबाबका बाबजुद सभापति देउवाले भने सात बुँदे सहमतिको कारण सरकार छाड्न हिचकिचाइरहेको देखिन्छ। यद्यपि, पार्टीभित्र बढ्दो दबाबले कांग्रेसले छिट्टै सरकारबारे आफ्नो स्पष्ट पार्नुपर्ने अवस्था आएको छ।


















