Logo

७ असोज,वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला र शंकास्पद हैजाका बिरामीहरु फेरि बढ्न थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबारदेखि सोमबारसम्म ८८ नयाँ केस फेला परेका छन्। शनिबार २७, आइतबार ३३ र सोमबार २८ जना नयाँ बिरामी दर्ता भएका छन्।

हालसम्म जिल्लाभर कुल १,५१२ जनामा झाडापखाला वा शंकास्पद हैजाको संक्रमण पुष्टि भएको छ। तीमध्ये १,४७९ जना उपचारपछि घर फर्किसकेका छन् भने ३३ जना विभिन्न अस्पतालमा उपचाररत छन्। पछिल्लो एक महिनामा मात्र २४० जनामा हैजा पुष्टि भएको छ।

वीरगन्ज महानगरपालिका–१५ लाई हैजाको मुख्य ‘हटस्पट’ क्षेत्रका रूपमा चिनिएको छ। भदौ ६ गते पहिलोपटक यहाँ हैजा देखिएको थियो। सरकारले संक्रमण नियन्त्रणमा ल्याउन सक्रियता देखाए पनि जेनजी आन्दोलनका कारण पछिल्लो हप्ता स्वास्थ्य टोलीको काम सुस्त हुँदा संक्रमण पुनः बढ्न थालेको छ।

जनस्वास्थ्य कार्यालयले खानेपानीमा पियुस (कोलोरिन) मिसाएर मात्र सेवन गर्न अनुरोध गरे पनि जनचेतनाको अभाव र गलत भ्रमका कारण धेरैले प्रयोग नगरेका छन्। “डीप बोरिङको पानीमा पियुस मिसाउँदा सन्तान नहुने भन्ने गलत धारणाले मानिसहरूले पियुस नलगाई पानी पिइरहेका छन्,” जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।

त्यसैले मंगलबारदेखि धार्मिक गुरुहरूलाई समुदायमा पठाएर पियुस प्रयोग गर्न जनसमुदायमा सचेतना फैलाउने योजना बनाइएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार खानेपानीको प्रदूषणले हैजा फैलिने जोखिम बढाएको छ। जनस्वास्थ्य कार्यालयले प्रत्येक घरमा पियुसको नियमित प्रयोग र सुरक्षित खानेपानीको आपूर्ति नै दीर्घकालीन हैजा नियन्त्रणको उपाय रहेको जनाएको छ।


सम्बन्धित समाचार