Logo

१२ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार र छठ पर्वको बिदाका दिनहरूमा पनि आफ्ना कार्यालयहरू सञ्चालनमा राख्ने निर्णय गरेको छ। मानवअधिकार उल्लङ्घनका घटना तथा आकस्मिक प्रकृतिका उजुरीको अनुगमन तथा दर्ताका लागि आयोगको केन्द्रीय कार्यालय हरिहरभवन, ललितपुर तथा सबै प्रदेश शाखा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो।

आयोगले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा मानवअधिकार उल्लङ्घनका सम्भावना बढ्ने भएकाले सर्वसाधारणलाई नजिकको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ, अपराधमा वृद्धि, महँगी तथा कालोबजारीजस्ता समस्याहरू देखिने सम्भावना हुन्छ। यस्ता अवस्था सार्वजनिक सेवा प्रवाहमा अवरोध निम्त्याउन सक्छन् भन्ने आयोगको गम्भीर ध्यानाकर्षण छ।”

शान्ति सुरक्षाको अवस्था मजबुत पार्न र सेवा प्रवाहलाई चुस्त बनाउन आयोगले सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ। साथै, मानवअधिकार संरक्षणमा सरकारसँग सहकार्य गर्न सबै सरोकारवाला पक्षहरूलाई समेत आग्रह गरिएको छ।


सम्बन्धित समाचार