Logo

२ असोज, काठमाडौं ।  सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबलकार परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा घोषणा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै राजपत्रमा सूचना प्रकाशन गर्दै यससम्बन्धी विवरण सार्वजनिक गरेको छ। यस सूचीमा औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रका केबलकार परियोजनाहरू समावेश छन्।

कुन-कुन आयोजना प्राथमिकतामा ?

औद्योगिक विकास अन्तर्गत बाराहाक्षेत्र औद्योगिक ग्राम (सुनसरी) र जोरायल औद्योगिक ग्राम (डोटी) लाई प्राथमिकता दिइएको छ। यसैगरी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत दमक औद्योगिक क्षेत्र (झापा), मयुरधाप औद्योगिक क्षेत्र (मकवानपुर), शक्तिखोर औद्योगिक क्षेत्र (चितवन), लक्ष्मीपुर औद्योगिक क्षेत्र (दाङ), मोतिपुर औद्योगिक क्षेत्र (रुपन्देही), नौवस्ता औद्योगिक क्षेत्र (बाँके), र दैजी औद्योगिक क्षेत्र (कञ्चनपुर) लाई पनि यस सूचीमा राखिएको छ।

विशेष आर्थिक क्षेत्रतर्फ पाँचखाल विशेष आर्थिक क्षेत्र (काभ्रेपलाञ्चोक) र हरैया विशेष आर्थिक क्षेत्र (कैलाली) लाई पनि राष्ट्रिय प्राथमिकता दिइएको छ।

यातायात र ऊर्जा पूर्वाधार

नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत दोधारा चाँदनी सुक्खा बन्दरगाह (कञ्चनपुर) र एकीकृत जाँच चौकी लाई पनि प्राथमिकता प्राप्त आयोजनामा राखिएको छ।

ऊर्जा पूर्वाधारतर्फ, नेपाल आयल निगमले सञ्चालन गर्ने सिलिगुडी (भारत) देखि झापाको चारआलीसम्मको पेट्रोलियम पाइपलाइन र अमलेखगन्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन विस्तार आयोजनालाई पनि उच्च प्राथमिकतामा राखिएको छ।

निजी क्षेत्रबाट सञ्चालित ६ वटा केबलकार परियोजनाले पनि राष्ट्रिय प्राथमिकता पाएका छन्। तीमध्ये सत्यवती दर्शन (पाल्पा), सानो पाथिभरा (इलाम), सिक्लेस अन्नपूर्ण (कास्की), ड्रिम्स हिल्स (चितवन, नवलपरासी), सुपा देउराली (अर्घाखाँची) र सूर्यकुण्ड गोसाईकुण्ड (सिन्धुपाल्चोक) रहेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार यी आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकतामा राख्दा कार्यान्वयनमा तीव्रता आउने र देशको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

आयोजनाको सुची ;

क) औद्योगिक ग्रामः बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी, कोशी प्रदेश
जोरायल औद्योगिक ग्राम, डोटी, सुदूरपश्चिम प्रदेश

ख) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजनाः
दमक औद्योगिक क्षेत्र, दमक, कोशी प्रदेश
मयुरधाप औद्योगिक क्षेत्र, मकवानपुर, बागमती प्रदेश
शक्तिखोर औद्योगिक क्षेत्र, चितवन, बागमती प्रदेश
लक्ष्मीपुर औद्योगिक क्षेत्र, दाङ, लुम्बिनी प्रदेश
मोतिपुर औद्योगिक क्षेत्र, रुपन्देही, लुम्बिनी प्रदेश
नौवस्ता औद्योगिक क्षेत्र, बाँके, लुम्बिनी प्रदेश
दैजी औद्योगिक क्षेत्र, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश

ग) विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनास्
पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक, बागमती प्रदेश
हरैया विशेष आर्थिक क्षेत्र, कैलाली, सुदूरपश्चिम प्रदेश

घ) नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनाः दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश

ङ) नेपाल आयल निगम अन्तर्गतका आयोजनाः
भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना
अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना

च) निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनास्
सत्यवती दर्शन प्रालि, पाल्पा
सानो पाथिभरा केबलकार प्रालि, इलाम
सिक्लेस अन्नपूर्ण केबलकार प्रालि, कास्की
ड्रिम्स हिल्स प्रालि (देवघाट मौलाकाली), चितवन, नवलपरासी
सुपा देउराली केबलकार प्रालि, अर्घाखाँची
सूर्यकुण्ड गोसाईकुण्ड केबलकार प्रालि, सिन्धुपाल्चोक


सम्बन्धित समाचार