१२ असोज,वीरगञ्जको । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया चाडपर्व दशैंको लामो बिदाका कारण स्थगित भएको छ। मुख्यमन्त्री सतिश सिंहले पदबाट लिखित राजीनामा नदिँदा संवैधानिक रूपमा नयाँ सरकार गठन गर्ने बाटो अहिले बन्द छ।
मुख्यमन्त्री सिंहले राजीनामा नदिँदा चार प्रमुख दलबीच गरिएको सहमतिपनि प्रक्रिया अघि बढ्न सकेको छैन। एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मुख्यमन्त्रीले लिखित रूपमा राजीनामा दिएपछि मात्र नयाँ सरकार गठनका लागि ३० दिन अगावै बाटो खुल्ने बताउनुभयो।
चार दल—नेपाली कांग्रेस, एमाले, जनमत पार्टी र लोसपा—बीच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने लिखित सहमति भइसकेको छ। तर, मुख्यमन्त्री सिंहले दशैं बिदा सकिएपछि मात्रै राजीनामा दिने तयारी गरिरहेका छन्। स्रोतका अनुसार सिंहले बिदा सुरु भएकाले तत्काल राजीनामा दिन नसक्ने बताउनुभएको छ।
जनमत पार्टीका नेता महेश यादवका अनुसार, नेतृत्व परिवर्तनबारे टुङ्गो लागेको भए पनि मन्त्रालयहरूको बाँडफाँटमा अझै सहमति हुन बाँकी छ।
यसअघि जनमत र कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। अहिले सिंहले दशैं बिदा सकिएपछि विश्वासको मत लिन वा राजीनामा दिनुपर्ने विषयमा निर्णय गर्ने तयारी गरिरहेको बुझिएको छ।
यो घटनाक्रमले मधेश प्रदेशमा सरकार गठनको प्रक्रिया केही दिन थप ढिलाइ हुने देखिएको छ।

















