१३ असोज, काठमाडौँ । मधेशवादी नेता तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले गृह मन्त्रालयको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाएका छन्। हालै मन्त्रालयले भदौ २३ र २४ मा भएका हिंसात्मक घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन नआउन्जेलसम्म कुनै धरपकड र कारबाही नगर्ने निर्णय गरेपछि त्रिपाठीले तीव्र आलोचना गरेका हुन्।
पूर्वमन्त्री समेत रहेका त्रिपाठीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उक्त निर्णयले समाजमा अपराधीकरणलाई प्रश्रय दिने दाबी गरेका छन्। “उद्योग, निजी घर, सरकारी भवन र सार्वजनिक सम्पत्तिमा लुटपाट र आगजनी गर्ने आपराधिक समूहलाई उन्मुक्ति दिइयो भने समाजमा अपराध बढ्ने निश्चित छ,” उनले उल्लेख गरेका छन्।
त्रिपाठीले गृहमन्त्रीको भूमिकालाई समेत प्रश्न गर्दै, “गृहमन्त्री किन यति लाचार भएका छन्?” भन्ने प्रश्न उठाएका छन्। उनले घटनाक्रममा प्रयोग भएका १,२०० भन्दा बढी हतियार र एक लाखभन्दा बढी गोली लुटिएको, साथै हजारौं कैदी फरार भएको विषयमा मन्त्रालयको धारणा स्पष्ट हुनुपर्ने माग राखेका छन्।
गृह मन्त्रालयको निर्णयपछि सामाजिक सञ्जालदेखि संसदसम्म यसको विरोध भइरहेको छ। आलोचकहरूका अनुसार यस्तो निर्णयले कानुनको शासन कमजोर बनाउने खतरा बढेको छ।

















