१३ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो प्रतिनिधि सभा चुनाव तोकिएको समयमा सम्पन्न गर्न अपिल गर्दै संसद् र सरकारको निरन्तरताका लागि सबै पक्षसँग संयमता र सहकार्यको आग्रह गरेका छन्।
बडादशैं २०८२ को अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले देशमा उत्पन्न असाधारण परिस्थिति, जनधनको क्षति तथा संस्थागत क्षतिहरूको उचित व्यवस्थापन गर्दै राजनीतिक स्थायित्वतर्फ अघि बढ्न सबै राजनीतिक शक्ति, सरोकारवाला र जनताको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
हालैको ‘जेन जेनरेशन’ आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। सोही क्रममा आगामी फागुन २१ गते नयाँ चुनावको मिति तोकिएको हो।
राष्ट्रपतिले जनताको भावनालाई सम्बोधन गर्नेगरी लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै संविधानबमोजिम अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रपतिले देशमा सहकार्य, समझदारी र संयमता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। “देशलाई स्थायित्व, समृद्धि र सामाजिक न्यायतर्फ डोर्याउन सबै पक्षको साझा प्रयास जरुरी छ,” राष्ट्रपतिको सन्देशमा उल्लेख छ।
दशैंजस्ता सांस्कृतिक पर्वहरूबाट सामाजिक एकता, समर्पण र दायित्वबोधको भावना जागृत हुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिको सन्देशले पुनर्निर्माण र राष्ट्रिय एकताको सन्देश दिएको छ।

















