१३ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्व सांसदहरूलाई संघीय संसद् सचिवालयमा रातो पासपोर्ट र सांसद परिचयपत्र यथाशीघ्र फिर्ता गर्न निर्देशन दिएको छ। पार्टीका प्रवक्ता मनिष झाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।
रास्वपाले यसअघि प्रतिनिधि सभामा २१ जना सांसद पठाएको थियो। निर्वाचन परिणाम आएसँगै केही सांसद पुनः निर्वाचित नभएको र तिनले अझैसम्म सांसदका विशेषाधिकार वापत प्राप्त सामग्रीहरू फिर्ता नगरेको भन्दै पार्टीले तत्काल फिर्ता गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “पार्टीको जिम्मेवार र पारदर्शी आचरणलाई ध्यानमा राख्दै निवर्तमान सांसदहरूले रातो पासपोर्ट र सांसद परिचयपत्र फिर्ता गर्नु आवश्यक छ।”
त्यस्तै, पार्टीले चाडपर्वको समयमा कुनै पनि किसिमको उपहार नलिन समेत सबै तहका नेता, पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिएको छ। शुभकामना सन्देश बाहेकका उपहारहरू स्वीकृत नगर्न आग्रह गरिएको छ।
रास्वपाले हालैको जेनजी आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएको स्मरण गराउँदै देश शोकको अवस्थामा रहेको जनाएको छ। त्यसैले पार्टीको झण्डा वा ब्यानर प्रयोग गरेर दशैं–तिहार लगायतका चाडपर्व सम्बन्धी कुनै सार्वजनिक कार्यक्रम नगर्न पनि स्पष्ट निर्देशन दिएको छ।
रास्वपाको यस्तो कदमलाई पार्टीको जवाफदेही र सामाजिक संवेदनशीलताप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।

















