१५ असोज, काठमाडौं। नेपालबाट दैनिक सरदर २५ सय नेपाली कामको खोजीमा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन्। परिवारको पेट पाल्न, ऋण तिर्न, घर बनाउने र भविष्य सुरक्षित गर्ने सपना बोकेर उनीहरू आफ्नो मातृभूमि छोड्छन्। तर ती सपनाहरू मध्ये कैयौं परदेशमै चकनाचुर हुन्छन्।
वैदेशिक रोजगारमा गएका थुप्रै नेपाली युवाहरूको जीवन परदेशमै समाप्त हुँदै गइरहेको ताजातम तथ्यांकले देखाएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा १४२ जना नेपाली कामदारको शव नेपाल ल्याइएको छ।
साउनमा ४३ र भदौमा ९९ जनाको शव नेपाल आइपुगेको हो।
बोर्डको खर्चमा ८३ शव नेपाल ल्याइएको छ भने बाँकी शव सम्बन्धित कम्पनी वा अन्य निकायहरूको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याइएको थियो। ती शवलाई बोर्डले नि:शुल्क रूपमा सम्बन्धित परिवारसम्म पु-याउने व्यवस्था गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा १,०८६ जना नेपाली श्रमिकको शव विदेशबाट नेपाल ल्याइएको थियो। तीमध्ये ४८१ जना श्रमिकको शव वैदेशिक रोजगार बोर्डमार्फत ल्याइएको हो।यस आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै २६८ जना मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ। साउनमा १४२ र भदौमा १२६ परिवारलाई सहायता प्रदान गरिएको हो।
बोर्डले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गर्दै आएको छ। यस्तै, अंगभंग तथा गम्भीर बिरामी भएका श्रमिकको हकमा ७ लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइन्छ। साथै, मृतक वा पूर्ण अपांग भएका श्रमिकका सन्तानलाई विद्यालय तहसम्म छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ — आधारभूत तहमा १२ हजार र माध्यमिक तहमा १६ हजार रुपैयाँसम्म।
अर्थिक सहायता पाउनका लागि मृत्यु वा अंगभंग भएको मितिदेखि १ वर्षभित्र निवेदन दिनुपर्ने र कागजातहरू आधिकारिक निकायबाट प्रमाणित हुनुपर्ने बोर्डले जनाएको छ।
देशको माटो, परिवार र भविष्यका लागि परिश्रम गर्न विदेशिएका नेपाली युवाहरू मध्ये धेरैले आफ्नो जीवन नै गुमाइरहेका छन्। झोलाभरि सपना लिएर गएका ती युवाहरू अन्ततः बाकसमा कैद भएर फर्किरहेका छन्।यो बढ्दो दरले सरकार र सम्बन्धित निकायहरूलाई वैदेशिक रोजगारीको सुरक्षा र श्रमिक हकहितमा अझ प्रभावकारी र दीर्घकालीन योजना आवश्यक छ भन्ने स्पष्ट सन्देश दिएको छ।














