Logo

१५ असोज.नवलपुर। नवलपुरको मध्यविन्दु नगरपालिका–६ स्थित नवदुर्गा सामुदायिक वनमा गोली प्रहार गरी चितुवा मारिएको अवस्थामा भेटिएको छ। अन्दाजी चार वर्ष उमेरको पोथी चितुवा बाँसको झ्याङ नजिक मृत फेला परेको हो।

डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोका अनुसार चितुवाको टाउको, घाँटी र पिँडुलामा चोट देखिएको छ। प्रारम्भिक अनुमान अनुसार भरुवा बन्दुकको गोली प्रहारबाट चितुवा मारिएको हुन सक्ने जनाइएको छ।

घटनाबारे स्थानीयले बुधबार बिहान च्याउ टिप्न जंगल गएका बेला चितुवा मृत अवस्थामा देखेपछि प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको टोलीले चितुवाको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि डिभिजन वन कार्यालयमा ल्याएको छ।

चितुवाको विस्तृत कारण पुष्टि गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले पोस्टमार्टम गर्ने बताइएको छ।वन अधिकृत महतोका अनुसार चितुवाको मृत्युलाई लिएर अनुसन्धान अघि बढाइएको छ, र दोषी पहिचान गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

यसअघि पनि गत वर्ष नवलपुरमै तीन वटा बाघ मृत भेटिएका थिए, जसले यस क्षेत्रमा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको स्पष्ट पार्छ। सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको सुरक्षा तथा जनचेतना अभिवृद्धिमा सम्बन्धित निकायले अझ कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।


सम्बन्धित समाचार