१५ असोज,गोरखा।प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जान प्रयोग हुने मनकामना केबलकार सेवा आजदेखि तीन दिनका लागि बन्द गरिने भएको छ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार असोज १५ गतेदेखि १७ गतेसम्म सेवा बन्द रहनेछ। भने, असोज १८ गतेदेखि पुनः नियमित रूपमा सेवा सञ्चालनमा आउने जानकारी उनले दिएका छन्।
शेरचनका अनुसार नियमित प्राविधिक परीक्षण तथा मर्मतका लागि सेवा केही दिनका लागि रोकिएको हो। सेवा पुनःसञ्चालनसँगै यात्रुहरूलाई नियमित तालिकाअनुसार सुविधा उपलब्ध हुने उनले बताए।
मनकामना केबलकार २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो। गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित मनकामना मन्दिरमा जाने श्रद्धालुहरूको यात्रा सहज बनाउन यो सेवा सुरू गरिएको हो।
केबलकार सेवा बन्द हुने जानकारीसँगै दर्शनार्थीहरूलाई वैकल्पिक साधनको उपयोग गर्न अनुरोध गरिएको छ।

















