१५ असोज,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवामा हरेक वर्षझैं आयोजना हुने ऐतिहासिक कुस्ती प्रतियोगिता तथा मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ।
नगवा–१६ मा अवस्थित ऐतिहासिक बौधीमाई मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो। बौधीमाई मन्दिर विकास समितिको आयोजनामा सम्पन्न भएको मेलामा धार्मिक श्रद्धा र सांस्कृतिक उत्साह दुवै देखिएको थियो।
विशेष आकर्षणका रूपमा रहेको कुस्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलवानहरूले आफ्नो दमखम प्रस्तुत गरे। विशेषगरी भारतको बेतिया र बनारसबाट आएका अनुभवी पहलवानहरूको सहभागिताले प्रतियोगिता झनै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई आयोजक समितिले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेको छ। प्रतियोगिताले नेपाल–भारतबीचको सांस्कृतिक र खेल सम्बन्धलाई थप बलियो बनाएको मेला आयोजक समितिले जनाएको छ।
मेला तथा प्रतियोगिताको व्यवस्थापनमा मेला समिति अध्यक्ष रामआधार चौरसिया, विश्रामपुर गाउँपालिकाका पूर्व अध्यक्ष अमीरी लाल पाल, वडा नं. १६ का वडा सदस्यहरू, मेला समितिका अन्य सदस्यहरू, स्थानीय सुरक्षाकर्मी, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय भूमिका रहेको थियो।
बौधीमाई मन्दिर परिसरमा आयोजना हुने मेला र कुस्ती प्रतियोगिता यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई जगेर्ना गर्दै आएको छ।स्थानीयवासी र श्रद्धालुहरूले मेलालाई धार्मिक आस्था, आपसी एकता र पारम्परिक खेलकुदको संरक्षणको प्रतीकका रूपमा लिने गरेका छन्।














