Logo

१५ असोज, काठमाडौँ । दसैंको सुरुवातदेखि नवौं दिनसम्मको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापनादेखि आजसम्म विभिन्न नाकाबाट यात्रु उपत्यका बाहिरिएका हुन्।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ यात्रु काठमाडौँ छाडेका छन्।

यात्रुहरू मुख्यतः पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूलाई लक्षित गर्दै घर फर्किएको बताइएको छ।

ट्राफिक कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि हालसम्म १ लाख १३ हजार ४१५ सवारी साधन उपत्यका बाहिरिएको छ।

त्यस्तै, ७७ हजार ५४५ सवारी साधनबाट ३ लाख १९ हजार १५ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जनाएको छ।कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकाहरूमा यात्रुको भीड देखिएको छ। सुवेदीका अनुसार, “काठमाडौँ छाड्नेहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ, तर सवारी सञ्चालन भने सामान्य अवस्थामा छ।”

दसैंको अवसरमा राजधानी छाड्नेहरूको संख्या हरेक वर्ष झैँ यसपटक पनि उच्च देखिएको छ। चाडपर्वमा घर फर्किने यात्रुहरूको व्यवस्थापनका लागि ट्राफिक प्रहरी सक्रिय रहेको जनाएको छ। यात्रुहरूलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न थप ट्राफिक जनशक्ति परिचालन गरिएको छ।


सम्बन्धित समाचार