Logo

१६ असोज,महोत्तरी। मधेसको मिथिला क्षेत्रमा विजयादशमीको दिन आज विशेष सांस्कृतिक परम्पराअनुसार रावण वध उत्सव मनाइँदैछ। महोत्तरीको मटिहानी नगरमा वर्षौंदेखि चल्दै आएको यो परम्परा यसपालि पनि उल्लासपूर्वक मनाउने तयारी गरिएको छ।

श्रीरामलाई मिथिलाका ज्वाइँको रूपमा सम्मान गर्ने मिथिलावासीहरूका लागि रावण वध केवल धार्मिक श्रद्धा नभई सांस्कृतिक गौरवको प्रतीक बनिसकेको छ। विजयादशमीकै दिन साँझ, दश टाउको भएको अजङ्को रावणको पुतला बनाइन्छ र श्रीरामको प्रतीक पात्रले त्यसलाई तीर प्रहार गरेर वध गरेको देखाइन्छ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, दुर्गा मन्दिर परिसरमा विशाल रावण प्रतिमा निर्माण गरिएको छ। साँझपख साङ्गीतिक प्रस्तुति र जनसमूहको उपस्थितिमा श्रीरामले प्रतीकात्मक रूपमा रावण वध गर्ने दृश्य प्रस्तुत गरिनेछ।

नगरप्रमुख मण्डल भन्छन्, “हामी बिहान देवी पूजन र विसर्जन गर्छौं, साँझ भने रावण वध उत्सव मनाउँछौं। यो हाम्रो दशैँको मूल र विशेष परम्परा हो, जसमा मटिहानीका जनजन सहभागी हुन्छन्।”

सत्ययुगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तबीज जस्ता दैत्यहरूको वध गरेझैँ, त्रेतायुगमा श्रीरामले दशमीकै दिन रावणको वध गर्नुभएको विश्वास मिथिला क्षेत्रमा प्रचलित छ। यसै विश्वासमा आधारित रही मटिहानीमा रावण वधको परम्परा वर्षौं देखि जोगाइँदै आएको छ।

९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल, मटिहानी–७ निवासी तथा प्रेस स्वतन्त्रता सेनानीका अनुसार, “देवीले नवमीसम्म र श्रीरामले दशमीमा रावण वध गर्नुभएको विश्वास मिथिलामा गहिरो रूपमा रहेको छ।”

मिथिलाको लोकपरम्परा र ग्रन्थहरूको अध्ययन गरेका ध्रुव रायका अनुसार, ‘दशहारा’ भन्नुको अर्थ दश इन्द्रियको दासत्वलाई हराउने पर्व हो। श्रीरामले मर्यादा पुरुषोत्तमको रूपमा रावण (दश इन्द्रियको प्रतीक) माथि विजय प्राप्त गरेकाले यो पर्वलाई ‘दशहारा’ भन्ने गरिन्छ।

रावण वधको भोलिपल्ट मटिहानीमा निर्माण गरिएको अजङ्को रावणको प्रतिमा बाजागाजासहित जलाशयमा विसर्जन गरिन्छ। यो परम्परा उल्लासमय वातावरणमा सम्पन्न हुन्छ, जसले असत्यमाथि सत्यको विजयको प्रतीकलाई अझ मजबुत बनाउने कार्य गर्छ।

संस्कृति र परम्पराको जगेर्ना

मटिहानीको यो रावण वध उत्सव केवल परम्परा मात्रै नभई मिथिलाको सांस्कृतिक पहिचान बनेको नगरप्रमुख मण्डल बताउँछन्। “हामी देवी उपासनामा रमाउँछौँ, तर रावण वध उत्सव हाम्रो दशैँको मुख्य र गहिरो अर्थ बोकेको परम्परा हो,” उनले भने।


सम्बन्धित समाचार