Logo

१८ असोज, चितवन । लगातारको वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा शुक्रबार राति पहिरो खस्दा मुग्लिङ–नागढुङ्गा सडक खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ। पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार, पहिरो शुक्रबार राति १:४५ बजे खसेको हो। सडक खुलाउनका लागि आवश्यक उपकरणसहित डोजर परिचालन गरिएको छ र कम्तीमा तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ। यद्यपि, निरन्तर वर्षा भइरहेकाले काममा चुनौती भइरहेको छ। सुरक्षाको दृष्टिले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक नभएसम्म यात्रा नगर्न आग्रह गरिएको छ।

यसैबीच, नारायणगढ–मुग्लिङ सडक खण्ड भने सामान्य अवस्थामा रहेको र अहिले सम्म कुनै अवरोध नभएको प्रहरीको भनाइ छ।स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै सडक यात्रामा निस्कनुअघि अवस्था बुझ्न र आवश्यक सुरक्षाका उपायहरू अपनाउन यात्रुहरूलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार